मेचीनगर गोल्डकप पाँचौ संस्करणको मुख्य प्रायोजकमा होटल मेची क्राउन, पहिलो दिन महिलाहरुलाई निःशुल्क प्रवेश

मेचीनगर । मेचीनगर गोल्डकप पाँचौं संस्करणको मुख्य प्रायोजकमा धुलाबारीस्थित होटल मेची क्राउन रहने भएको छ । बुधबार गोल्डकपको सचिवालयमा एक कार्यक्रमको आयोजना गरी आयोजक र होटलबीच सम्झौता भएको हो ।
मेचीनगर नगरपालिका संरक्षक रहेको गोल्डकपको प्रायोजकमा मेची नेत्रालय र काँकरभिट्टा आई केयर सेन्टर रहेका छन् । गोल्डकपमा कोशी प्रदेश खेलकुद विकास बोर्ड, मेचीनगर वडा नम्बर ६ कार्यालय, काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, नाइट चेस क्लब, काँकरभिट्टा भेट्रान फुटबल क्लब, रोलिङ क्लब, धुलाबारी, पूर्व मेची बस यातायात प्रालिको संस्थागत सहयोग रहनेछ ।
काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा यही फागुन २४ गतेदेखि सञ्चालन हुने गोल्डकपमा आठवटा सहभागी हुने भएका छन् ।
प्रतियोगितामा भारतका दुईसहित मोफसलका तीन र ‘ए’ डिभिजनका तीन क्लबको सहभागिता रहनेछ । प्रतियोगिता मुल व्यवस्थापन समितिका सदस्य तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाका अनुुसार प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, सशस्त्र प्रहरीको एपिएफ एफसी, धरान फुटबल क्लब, एनएसएल टिम झापा एफसी र आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर सहभागी हुनेछन् ।
त्यस्तै, प्रतियोगितामा भारतको जर्जियन युनाइटेड दार्जिलिङ र ग्लोबल फुटबल क्लब आसामले सहभागिता जनाउने आलेले जानकारी दिए । चैत २ गते हुने फाइनल खेलको विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्ने मुल आयोजक समितिका संयोजक श्रीप्रसाद मैनालीले बताए ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार र ट्रफी पाउँदा उच्च गोलकर्ताले नगद २५ हजार र ट्रफी पाउनेछ । उत्कृष्ट प्रशिक्षक र गोलकिपरले नगद २१ हजार र ट्रफी तथा उदीयमान खेलाडीले नगद ११ हजार र ट्रफी पाउनेछ । प्रत्येक दिनको प्लेयर अफ म्याचले नगद ११ हजार र ट्रफी पाउने क्लबका पूर्वअध्यक्ष मीनबहादुर बस्नेतले जानकारी दिए ।
यसैबीच, पाँचौं मेचीनगर गोल्डकपमा भारतीय फुटबलका पूर्व कप्तान सुनिल क्षेत्री र चर्चित खेलाडी भाइचुङ भोटिया पनि अतिथिका रुपमा प्रतियोगिता हेर्न आउने भएका छन् ।
प्रतियोगिताको पहिलो दिन नारी दिवस परेकोले महिलाहरुलाई प्रवेश निःशुल्क गरिएको आयोजकले जनाएको छ ।