२०८१ चैत्र १४, ०२:२२
#कोशी #खेलकुद #ब्रेकिङ न्युज

धुलाबारी एफसी सेमिफाइनलमा

नकलबन्दा । दोश्रो नकलबन्दा नगरस्तरीय नकआउट फुटबल प्रतियोगितामा धुलाबारी फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको छ । धुलाबारी एफसी दिपज्योति फुटबल क्लबलाई ३–१ गोल अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गर्ने तेस्रो टोली बनेको हो ।
धुलाबारीका लागि खेलको १३ औँ मिनेटमा जर्सी नम्बर २४ का साहिल तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाए । तामाङले विपक्षी दुई खेलाडीलाई विट गर्दै गरेको प्रहार गोलमा परिणत भएको थियो । पहिलो हाफमा केही दवाव महसुस गरेपनि डिएफसी खेलमा फर्केको थियो । डिएफसीका खेलाडी छिरिङ तामाङले खेलको २४ औँ मिनेटमा बराबरी गोल फर्काएका थिए ।
त्यसैगरी, खेलको २५ औँ मिनेटमा डिएफसीका खेलाडी दिपेश राईको प्रहार धुलाबारीका गोलरक्षक युवराज डाँगी उत्कृष्ट बचाउ गरेका थिए । खेलको २६ औँ मिनेटमा धुलाबारीका रञ्जित लिम्बूले प्रहार गरेको बल बारमा लागेर फर्केको थियो । खेल पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो ।
दोश्रो हाफमा धुलाबारीका जर्सी नम्बर ११ का निरज कार्कीले २ गोल गर्दै टिमलाई जीत दिलाए । उनले खेलको ५० औँ मिनेट र इञ्जुरी समयमा गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच निरज कार्की घोषित भए । उनले नगद १ हजारसहित ट्रफी प्राप्त गरे ।
सोमबार प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेल चन्द्रगढी युवा क्लब र आदर्श युवा क्लबबीच हुने आयोजकले जनाएको छ । मंगलबारदेखि सेमिफाइनल खेल हुनेछन् । नकलबन्दा स्पोर्टिङ क्लबको आयोजनामा जारी प्रतियोगिता मेची आधारभूत विद्यालयको खेलमैदानमा सञ्चालन भइरहेको छ । फुटबल प्रतियोगिता फागुन १७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः नगद ५० हजार र ३० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको प्रथम पुरस्कार स्वर्गीय कार्गिल विजयवीर सहिद सुरेश क्षेत्रीको परिवारबाट प्राप्त भएको छ भने दोश्रो पुरस्कार स्व. टंक बहादुर देवकोटाको स्मृतिमा देवकोटा परिवारबाट प्राप्त भएको छ । प्रतियोगिताको प्रायोजकमा नकलबन्दा बचत तथा ऋण सहकारी संस्था लि. रहेको छ भने सहयोगी संस्थाहरुमा गंगा मेमोरियल इङ्लिस स्कुल र मेची आधारभूत विद्यालय रहेका छन्‌रु ।
प्रतियोगिता अन्तर्गत विभिन्न विधामा समेत खेलाडीहरुलाई अवार्ड प्रदान गरिनेछ । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १ हजार, उत्कृष्ट गोलकिपरलाई ३ हजार १ सय, प्लेयर अफ द टुर्नामेन्टलाई २ हजार १ सय र सर्वाधिक गोलकर्तालाई २ हजार १ सयसँगै मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *