टाइब्रेकरमा यलम्बर एफसीलाई हराउँदै आयोजक सेमिफाइनलमा

नकलबन्दा । आयोजक नकलबन्दा स्पोर्टिङ क्लब दोश्रो नकलबन्दा नगरस्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । यलम्बर फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै आयोजक सेमिफाइनल प्रवेश गरेको हो ।
निर्धारित समयमा दुवै टिमले १–१ को बराबरी खेलेपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट लिइएको थियो । टाइब्रेकरमा आयोजक नकलबन्दाका लागि अरुन मेचे, राज घर्ती क्षेत्री र आयुषमान राईले गोल गरेका थिए । यलम्बर एफसीका अतित राई, पुजन लिबाङले गोल गरे भने यलम्बर एफसीका कप्तान परिवेश लिम्बूले प्रहार गरेको पेनाल्टी बारमा लाग्दै फर्किएपछि खेलमा आयोजक विजयी बन्यो ।
खेलको ८ औँ मिनेटमा यलम्बर एफसीका जर्सी नम्बर १२ का अतित राईले टिमलाई १–० को अग्रता दिलाए । घरेलु दर्शकको साथ पाएको आयोजक टोली र यलम्बरबीच प्रतिष्पर्धात्मक खेल सम्पन्न भएको थियो । पहिलो हाफको २५ औँ मिनेटमा नकलबन्दाका अरुन मेचेले बराबरी गोल गर्दै आफ्नो टिमलाई खेलमा फर्काएका थिए ।
दोश्रो हाफमा नकलबन्दाका जर्सी नम्बर १० का आयुषमान राईले गरेको प्रहारलाई यलम्बरका गोलरक्षक नगन योङहाङले विफल बनाइदिए । यलम्बरका अतित राईले खेलको ४५ औँ मिनेटमा गरेको प्रहारले नकलबन्दाको रक्षापंक्तिलाई चिर्न सकेन । दुवै टोलीले स्कोर गर्ने मौका पाए पनि गोल गर्न नसक्दा खेल बराबरीमा सकिएको थियो ।
खेलको म्यान अफ दि म्याच आयोजकका अरुन मेचे घोषित भए । उनले नगद १ हजारसहित ट्रफी प्राप्त गरे । आइतबार प्रतियोगिताको तेश्रो क्वाटरफाइनल खेल धुलाबारी फुटबल क्लब र दिपज्योति फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ । नकलबन्दा स्पोर्टिङ क्लबको आयोजनामा जारी प्रतियोगिता मेची आधारभूत विद्यालयको खेलमैदानमा सञ्चालन भइरहेको छ । फुटबल प्रतियोगिता फागुन १७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः नगद ५० हजार र ३० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको प्रथम पुरस्कार स्वर्गीय कार्गिल विजयवीर सहिद सुरेश क्षेत्रीको परिवारबाट प्राप्त भएको छ भने दोश्रो पुरस्कार स्व. टंक बहादुर देवकोटाको स्मृतिमा देवकोटा परिवारबाट प्राप्त भएको छ । प्रतियोगिताको प्रायोजकमा नकलबन्दा बचत तथा ऋण सहकारी संस्था लि. रहेको छ भने सहयोगी संस्थाहरुमा गंगा मेमोरियल इङ्लिस स्कुल र मेची आधारभूत विद्यालय रहेका छन् ।
प्रतियोगिता अन्तर्गत विभिन्न विधामा समेत खेलाडीहरुलाई अवार्ड प्रदान गरिनेछ । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १ हजार, उत्कृष्ट गोलकिपरलाई ३ हजार १ सय, प्लेयर अफ द टुर्नामेन्टलाई २ हजार १ सय र सर्वाधिक गोलकर्तालाई २ हजार १ सयसँगै मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।