२०८१ चैत्र १४, ०३:५९

‘२६ करोड’ निर्देशन गर्दै विकास, मुख्य भूमिकामा प्रदीप

निर्माता रोहित अधिकारीले बनाउने भनिएको फिल्म ‘२६ करोड’ अब अर्को टिमले बनाउने भएको छ ।धेरै अगाडिदेखि चर्चा भइरहेको फिल्म , ‘२६ करोड’ ।

निर्देशक दिनेश राउत बाहिरिएपछि  बन्न नसकेको  चलचित्र “२६ करोड “अब यसलाई ‘पूजार सार्की’का निर्माता सुभाष भुसालले निर्माण गर्ने भएका छन् । अर्कै एक कम्पनीको नाममा रहेको फिल्मको सम्पूर्ण अधिकार उनले लिएका हुन् । २०८२ सालमा छायांकनको तयारी गरिएको यो चलचित्रलाई लेखक विकास सुवेदीले निर्देशन गर्नेछन् ।

चलचित्रमा अभिनेता प्रदीप खड्का मुख्य भूमिकामा निश्चित भइसकेका छन् । उनले योभन्दा अगाडि बैशाखमा फिल्म ‘ऐरी’ मा काम गर्नेछन् । यसको छायांकन सकिएपछि उनी ‘२६ करोड’को वर्कसपमा जोडिने जनाइएको छ । चुनौतीपूर्ण चरित्र भएकाले उनलाई केही महिना वर्कसपमा राख्ने तयारीमा निर्देशक सुवेदी छन् । यसैले फिल्मको छायांकन आगामी भदौपछि मात्र हुनसक्ने देखिन्छ ।

यो फिल्ममा अभिनेता पल शाह पनि हुने व्यापक चर्चा छ । निकट स्रोतका अनुसार विकास र पलबीच फिल्मको बारेमा केही पटक कुराकानी भइसकेको छ । उनीहरुबीच राम्रो सम्बन्ध भएकाले ‘२६ करोड’मा पल जोडिने सम्भावना प्रवल छ । यसअघि विकासको निर्देशनमा पलले दर्जनौं म्यूजिक भिडियो गरिसकेका छन् । ‘पूजार सार्की’मा पल आबद्ध हुनुमा पनि विकास नै मुख्य कारण थिए ।

‘प्रकाश’, ‘पूजार सार्की’ र ‘महाभोज’ फिल्मको स्क्रिप्ट लेखिसकेका विकास ‘२६ करोड’भन्दा अगाडि अर्को एक फिल्म निर्देशन गर्ने तयारीमा छन् । त्यसैबाट उनको निर्देशनमा डेब्यु हुनेछ । सम्भवतः फागुन महिनामै उनले आफ्नो निर्देशनमा बन्ने पहिलो फिल्मको घोषणा गर्नेछन् । उक्त फिल्मको निर्माण एक चर्चित अभिनेताले गर्ने बुझिएको छ । फिल्मको स्क्रिप्ट विकास आफैंले लेखेका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *