गृहमन्त्रीको निर्देशन शेरा दरबार जग्गाको गम्भीर छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनु
काठमाडौँ — नुवाकोटाको शेरा दरबार र शेरा दरबारले चर्चेको १६४ रोपनी जग्गा व्यक्तिको नाममा लैजान गरेको घटनाको गम्भीर रूपमा छानबिन गर्नका लागि गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख दीपक थापालाई निर्देशन दिएका छन् ।
गृहमन्त्री लेखकले आइतबार कान्तिपुर दैनिकमा समाचार प्रकाशित भएपछि प्रहरी महानिरीक्षक कुँवर र एआईजी थापालाई बोलाएर शेरा दरबारको जग्गाको विषयमा जानकारी लिएका थिए ।
गृहमन्त्रीको सचिवालयका अनुसार अनुसन्धानबाट दोषी देखिएकाहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन पनि निर्देशन दिएका छन् । ‘नुवाकोटाको शेरा दरबारको विषयमा सीआईबीबाट छानबिन भइरहको सन्दर्भमा गृहमन्त्रीले सीआईबी प्रमुख एआइजी दीपक थापा र प्रहरी प्रमुख बसन्तबहादुर कुँवरलाई उक्त विषयमा गम्भीर भएर छानबिन गर्न निर्देशन दिनुभएको छ,’ गृहमन्त्रीको सचिवालयले भन्यो, ‘सो प्रकरणको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन पनि निर्देशन दिनुभएको छ । त्यसका लागि छानबिन प्रक्रिया द्रुत रुपमा अघि बढाएर उक्त विषय टुंगोमा पुर्याउनसमेत गृहमन्त्रीले निर्देशन दिनुभएको छ ।’
पृथ्वीनारायण शाहका पालामा नुवाकोटको शेराबेंसीमा बनेको दरबारको १६४ रोपनी जग्गा व्यक्तिगत कम्पनीका नाममा दर्ता गरिएको भेटिएपछि कारबाहीका लागि सीआईबीले सरकार र अख्तियारलाई पत्राचार गरेको छ ।
हदबन्दीमाथिको जग्गा जोगाउन राजपरिवारका सदस्यहरूले खोलेको कम्पनीको स्वामित्व नाटकीय रूपमा विकेश श्रेष्ठको परिवारले लिएको सार्वजनिक भएको छ । माओवादी नेता श्रेष्ठ अध्यक्ष पुष्पकमल दाहाल २०६५ मा प्रधानमन्त्री हुँदा स्वकीय सचिव थिए ।
नुवाकोटको विदुर नगरपालिका–२ स्थित शेरा दरबार र त्यसले चर्चेको १८४ रोपनी ४ आना १ पैसामध्ये १६४ रोपनी १३ आना २ दाम जग्गा हिनामिना भएकाले सरकारका नाममा ल्याउन सीआईबीले सरकारलाई पत्राचार गरेको हो । त्यस्तै सार्वजनिक जग्गा गैरकानुनी रूपमा कम्पनीमा सार्ने समूहमाथि कारबाही गर्न अख्तियारलाई पनि पत्र लेखिएको हो ।