सत्ता टिकाउनकै लागि बनाइएको समाजवादी मोर्चा सरकारबाट हटेपछि निष्क्रिय
काठमाडौँ, १३ पुस—माओवादी अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता टिकाउने हतियारका रूपमा प्रयोग गरेको समाजवादी मोर्चा निष्क्रिय भएको छ । माओवादी र एकीकृत समाजवादी प्रतिपक्षमा पुगेपछि मोर्चामार्फत कुनै पनि गतिविधि गरिएको छैन ।
तत्कालीन सत्तारूढ माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी नेपाल र संसद् बाहिर रहेको नेपाल कम्युनिस्ट पार्टी रहेको समाजवादी मोर्चा २०८० असारमा घोषणा गरिएको थियो । मोर्चामा पछि महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी जोडिएको थियो ।
गत वैशाखमा पार्टी विभाजन भएपछि जसपा नेपाल मोर्चाबाट बाहिरिइसकेको छ । ‘सरकारमा रहँदा प्रचण्डजीले समाजवादी मोर्चालाई सत्ताको हतियारका रूपमा अघि बढाउनुभयो । अहिले मोर्चा भए पनि भविष्यमा पार्टी नै बनाउने भन्नुहुन्थ्यो । अहिले मोर्चाको नाम नै लिन चाहनुभएको छैन,’ मोर्चामा रहेको दलका एक नेताले भने ।
जनताको नागरिक र राजनीतिक अधिकारका साथै आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको प्रत्याभूति गराउँदै शान्तिपूर्ण, न्यायसंगत र समावेशी समाज निर्माणका लागि मोर्चा बनाइएको उद्घोष गरिएको भए पनि मोर्चामार्फत तत्कालीन सत्तासहयात्री कांग्रेसलाई दबाब दिने माओवादी अध्यक्ष दाहालको रणनीति थियो ।
त्यति बेला प्रतिनिधिसभामा मोर्चामा रहेका दलको सांसद संख्या ५४ थियो । संसद्बाहिर रहेको नेकपाले सडकबाट दबाब दिने नीति लिइएको थियो । मोर्चाको सातै प्रदेशमा भएका सभालाई माओवादीका अध्यक्ष दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा महासचिव नेत्रविक्रम चन्दलगायतका नेताले सम्बोधन गरेका थिए । उनीहरूले त्यति बेला समाजवादी क्रान्तिको आधार तयार गर्न मोर्चा गठन गरेको बताएका थिए ।
नेपाली विशेषताको समाजवादको आधार निर्माण गर्ने मुख्य उद्देश्यसहित मोर्चालाई केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहसम्म गठन गर्ने गरी कार्यविधिसहितको प्रतिवेदन बनाइएको थियो । चार दलका नेताहरूको कार्यदलले बनाएको मस्यौदा अलपत्र छ ।
यस बीचमा मोर्चाका संयोजक रहेका नेकपा महासचिव नेत्रविक्रम चन्दले मोर्चालाई सक्रिय बनाउन माओवादी अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरेका थिए । तर उनीहरूले यसमा चासो देखाएका छैनन् । चन्द नेतृत्वको नेकपाको गत साता भएको केन्द्रीय समिति बैठकले मोर्चालाई सक्रिय बनाउने निर्णय गरेको छ ।
माओवादीका महासचिव देव गुरुङले दलहरू आआफ्नो पार्टीको काममा व्यस्त भएकाले मोर्चाको गतिविधि हुन नसकेको बताए । ‘मोर्चामा रहेका दलहरू आआफ्नो कार्यक्रममा रहेकाले एक ठाउँमा जुटेर सल्लाह गर्न पाएको छैनौं । व्यस्तताका कारण कार्यविधिलाई अन्तिम रूप दिन पाइएको छैन,’ उनले भने, ‘समाजवादी मोर्चा क्रियाशील बनाउनेमा विमति छैन ।’ माआवादी, एकीकृत समाजवादी र नेकपाले आआफ्नो बैठकबाट मोर्चालाई अघि बढाउने निर्णय गरेकाले नेपालमा समाजवादको आधार तयार गर्ने गरी फेरि सक्रिय हुने गुरुङले बताए ।
नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जनता समाजवादी पार्टीको विभाजन र ठूलो दल माओवादीको निष्क्रियताका कारण मोर्चा शिथिल भएको बताए ।
‘गठबन्धन सरकारमा सहभागी पार्टीबीच समस्या पैदा भएपछि सहकार्य र तालमेलमा प्रभाव पर्यो । जसपा नेपाल मोर्चाबाट बाहिर निस्कनुपर्ने कारण थिएन,’ उनले भने, ‘मोर्चा शिथिल हुनुमा माओवादी जिम्मेवार छ ।’ उनले समाजवादी मोर्चा अहिलेको वस्तुगत र राष्ट्रिय आवश्यकता भएको बताए । ‘हामी मोर्चालाई अघि बढाउँछौं, प्रभावकारी बनाउँछौं,’ उनले भने ।
नेकपाले पार्टी एकता तत्काल सम्भव नभए मोर्चाबन्दी गर्ने नीति अख्तियार गर्नुपर्ने निर्णय केन्द्रीय समिति बैठकबाट गरेको छ । ‘विचारको विकासलाई सहयोग पुग्ने, नयाँ आधार निर्माण गर्न सक्ने र क्रान्तिलाई अगाडि बढाउन सक्ने गरी एकता गर्ने,’ नेकपाको निर्णयमा भनिएको छ, ‘हामीले समाजवादी मोर्चालाई सक्रिय बनाउन र अन्य पार्टीलाई जोड्न जोड दिनुपर्छ ।’
एकीकृत समाजवादीको गत साता भएको स्थायी समिति बैठकले विगतमा बनेका बिभिन्न गठबन्धन र मोर्चाले आफ्नो दललाई उपयोग गरेको निष्कर्ष निकालेको छ । राजनीतिक कार्यक्रमका आधारमा मात्र सहकार्य गर्ने निर्णय एकीकृत समाजवादीले गरेको छ । ‘अब एकीकृत समाजवादी ठोस राजनीतिक कार्यक्रमका आधारमा गरिने सहकार्य, मोर्चा वा एकताबाहेक अरू कुनै पनि गठबन्धन गर्दैन भन्नेमा आफैं पनि स्पष्ट हुनुपर्छ,’ स्थायी समिति बैठकले पारित प्रतिवेदनमा भनिएको छ ।
एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसालले भने समाजवादी मोर्चालाई सक्रिय बनाउनुपर्ने सम्बद्ध दलको धारणा रहेको बताए । माओवादी, एकीकृत समाजवादी सरकारमा रहेका बेला मोर्चाका गतिविधि तीव्र भए पनि प्रतिपक्षमा पुगेपछि ठप्प हुनु मुख्य कारण दलहरू आआफ्नो संगठनमा केन्द्रित बन्नु रहेको उनको भनाइ छ । ‘समाजवादी मोर्चालाई सक्रिय बनाउनुपर्छ भन्ने हाम्रो धारणा हो । तर हामी महाधिवेशन र त्यसपछि संगठन निर्माणमा लाग्यौं । माओवादी पनि आफ्नै योजनामा लाग्यो । स्थानीय तहको उपनिर्वाचमा पनि व्यस्त भयौं,’ उनले भने ।
मोर्चाको राजनीतिक प्रतिवेदन तयार गर्न बनेको कार्यदलमा सदस्य रहेका नेपाल समाजवादी पार्टीका नेता गंगानारायण श्रेष्ठले नेताहरूमा मोर्चाप्रति उदासिनता देखिएको बताए । ‘मोर्चामा पार्टी एकता गर्ने हदसम्म छलफल चलेको थियो । समाजवादी ध्रुव निर्माण गर्ने र विचार मिल्नेसँग एकताको आधार बनाउने भनिएको थियो । राजनीतिक दस्ताबेजको मस्यौदा पनि तयार गरेका थियौं,’ उनले भने, ‘सम्बद्ध दलका नेताहरूको उदासिनताका कारण मोर्चा अहिले पूरै सेलाएको छ ।’