२०८१ आश्विन २९, ०८:०४
#ब्रेकिङ न्युज

मंगलबारकाे हावाहुरीले मेचीनगरमा साढे दुई करोड बढीको क्षति

झापा । मंगलबार मध्यरातमा पानीसहित आएको हावाहुरीले झापा मेचीनगरका तीन वटा उद्योगमा अढाई करोड रुपैयाँभन्दा बढीको क्षति गरेको छ ।

मेचीनगर १० प्रगति टोल बस्ने ख्याम प्रसाईँले सञ्चालन गरेको शिवम् प्लाई उद्योगको ६ ट्रक बराबरको भेनियर पत्ता, सोही उद्योगको छानो, भान्सा घरको छानोलगायत अन्दाजी मूल्य डेढ करोड रुपैयाँ बराबरको क्षति भएको छ । त्यस्तै सोही ठाउँ रहेको हलेसी भेनियर उद्योगमा एक करोड रुपैयाँको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्यस्तै डिल्लीराम श्रेष्ठले सञ्चालन गरेको सो भेनियर उद्योगको ७ ट्रक (ट्रकमा लोड गर्दा हुने परिमाण) भेनियर पत्ता, कामदार बस्ने कटेज, पिलिङ मेसिन, चाइनिज मेसिनसहित उद्योगको दुवैपट्टिको टिनको छानामा क्षति पुगेको छ ।
त्यस्तै, मेचीनगर–१० लालपानीमा रहेको सिद्ध विनायक भेनियर उद्योगको १ ट्रक (ट्रकमा लोड गर्दा हुने परिमाण) भेनियर पत्ता, उद्योगको टिनको बेरा र छाना उडाउँदा १० लाख रुपैयाँ क्षति भएको सञ्चालक श्याम न्यौपानेले बताए ।

त्यस्तै मेचीनगर १० प्रगति टोल बस्ने यामप्रसाद आचार्यको घरको टिनको छानो उडाउँदा अन्दाजी मूल्य रु. ५० हजार बराबरको क्षति भएको छ भने मेदनी खनालको घरको टिनको छानो उडाई अन्दाजी मूल्य रु. ५० हजार, राधिका राजवंशीको टिनको छानो र टिनको बेरा भएको पसल अन्दाजी मूल्य रु. १० हजार बराबरको क्षति भएको छ ।

त्यस्तै इलाका प्रहरी कार्यालय धुलाबारीमा कार्यरत प्रहरी कार्यालय सहयोगी अमित सुर्खेतीले कार्यालय परिसरभन्दा बाहिर सञ्चालन गरेको टिनको छानो बाँसको बेरा भएको खाजा घरको छानो उडाइ अन्दाजी मूल्य रु ८० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हावाहुरीले केही फुसका घरहरू उडाएको छ भने बिजुलीका पोल र रुखहरू ढलेका छन् । बिजुलीको पोल ढल्दा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । मेचीनगर ७ देखि ८ नम्बरको हाइवे एरियामा विद्युत् प्रसारणका लागि गाडिएका ६० वटा नयाँ पोलहरू भाँचिएको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

त्यस्तै, मकै, तरकारी, फलफूल बालीमा नोक्सान पुगेको छ । पूर्वपश्चिम राजमार्ग उत्तरमा हावाहुरीले क्षति गरेको जनाइएको छ ।प्रहरीले झापामा हावाहुरीका कारण २ करोड ६२ लाख ८० हजार बराबरको क्षति भएको जनाएको छ ।

मंगलबारकाे हावाहुरीले मेचीनगरमा साढे दुई करोड बढीको क्षति

उपचारमा आर्थिक सहयोग गरिदिन सञ्जयको अपिल

Leave a comment

Your email address will not be published. Required fields are marked *