२०८१ आश्विन २९, २१:४०

तीन राउन्ड गोली हानेर हात्ती मारेको पुष्टि: वन कार्यालय प्रमुख मेघराज राई

झापा । झापाको मेचीनगरमा मृत अवस्थामा भेटिएको वयस्क हात्तीलाई गोली हानेर मारेको पुष्टि भएको छ । हात्तीलाई गोली हानेर मारेको जिल्लाकै यो पहिलो घटना हो ।

मेचीनगर नगरपालिका–११ स्थित कालिका सामुदायिक वनभित्र मंगलबार दिउँसो साढे ४ बजेको समयमा एउटा हात्ती मृत अवस्थामा फेला परेको थियो । अन्दाजी ४० वर्ष उमेरको वयस्क हात्तीको बुधबार दिउँसो पोस्टमार्टम गर्दा तीन राउन्ड गोली हानेर मारेको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताए ।

‘हात्तीको कानको छेउमा गोली प्रहार गरेर मारेको रहेछ,’ वन प्रमुख राईले भने, ‘हात्तीको अन्य भागमा गोली छिर्दैन, यो वन्यजन्तु शिकारी गर्ने समूहकै काम हुनुपर्छ, यस बारेमा वनले अनुसन्धान थालिसकेको छ ।’ गोली अझै परेको परेको छैन । पोस्टमार्टम गर्दा तीन वटा गोली कानको छेउबाट दुलो बनाएर शरीरभित्र छिरेको देखिएको छ । गोली हड्डीभित्र छिरेकोले हाललाई निकाल्न सकिएन । ‘हात्तीको हड्डी निक्कै कडा हुन्छ, त्यसैले गोली निकाल्न समस्या भयो,’ वन प्रमुख राईले भने । ‘गोली निकाल्न सकिएको भए शिकारीले कुन बन्दुकले मारेको कुरा पनि बाहिर आउँथ्यो,’ उनले थपे ।

हात्तीलाई मारेर दुवै दाह्रा आराले काटेर केही भाग लगेको देखिन्छ । अरू भाग पोस्टमार्टम गरी निकालेका छौँ । पुच्छरको रौँ पनि तानेर लगेको उनको भनाई छ । स्थानीयका अनुसार बैशाख २ गते मध्यरातपछि जंगलमा हात्ती कराउन छाडेको थियो । यो घटना त्यही दिनको हुन सक्ने अनुमान गरिएको उनले बताए । हात्तीको पोस्टमार्टम गरी आजै खाल्डो खनेर त्यही जंगलभित्र पुरिदिएको उनले बताए । ‘जिल्लामा यस्तो घटना अहिलेसम्म भएको थिएन, यो पहिलो घटना पनि हो,’ उनले भने । ।

Leave a comment

Your email address will not be published. Required fields are marked *