२०८० फाल्गुन ९, ०६:४७

मान्छेको मन

मान्छेको मन
मनमा विचार गरी ल्याउँदा सम्पूूर्ण विश्वका मान्छे या प्राणीहरुका मनले सबैलाई वशमा लिएको पाइन्छ, अब मात्रै मान्छेको कुरा गरौं । मानिसमा दश इन्द्रियहरु हुन्छन् र यिनमा यो मन परेन, इन्द्रियहरु भित्र यो मन पर्दैन । हाम्रा शास्त्रहरुले भन्छन् यो मन एघारौं इन्द्रियमा गनिन्छ रे, यो एघारौं भएर पनि अरु जम्मै ईन्द्रियहरुलाई डोर्याएर हिड्दछ, मन साहृै इमान्दारी पनि हुन्छ, चरम बेइमानी पनि, मन साधु पनि हुन्छ, यो चोर पनि हुन्छ, यो हत्यारा पनि हुन्छ । साहसी, डरपोक सबैमा व्याप्त रहेको यो मनले मानव मात्र के सनसारका सम्पूर्ण जीवहरुलाई डोहोर्याएर हिड्दछ । निदाएको, भोकाएको, तिर्खाएको, रोगी भोगी, जोगी सबैलाई यो मनले नौलो परिचित एवम् सनसारमा विचरण गराउँदछ, अतः यो मन, मनै हो यस्को व्याख्या व्युत्पत्ति गर्न धेरै कठिन पर्दछ । यो पदपदमा जन्मिरहने मरिरहने विषयवस्तु हो । निदाएको मानिसको या जीवको मन त झन द्रुत गतिले दौडन्छ, आकाशमा उड्दछ, पौड्न नजान्ने मानिस पनि पौडीवाज भएर ठूला ठूला सागर महासागरमा डुबुल्की मार्दछ, पौडेर सागर पनि सजिलै तर्दछ, आकाशमा पनि उड्दछ, धर्तीमा पनि झर्दछ । सागर भित्रका जलचर गोही ग्राह आदि भयंकर जन्तुहरुलाई पनि सागर भित्रै पसेर पक्रिएर वशमा पनि लिन सक्छ यो मन । सम्भव कुरो त सपना विपना जेमा पनि गर्न सक्ने हो, परन्तु यो मनलाई असम्भव कुरो पनि गर्न गाहृो हुँदैन । ठूलाठूला भूसतिग्रे पहलमानसँग लडाई गर्छ यो मन । बाघ भालुसँग लडाई गर्छ यो मन । बाघ भालुसँग लडाई गरेर विजय प्राप्त गर्छ, निदाएको बेलामा स्वप्न संसारमै सदैव विजयी बन्छ यो मन ।

यो मन अघि पनि सर्छ पछि पनि सर्छ, यस्को गति यति छिटो हुन्छ कि यो विजुली भन्दा पनि तीब्र गतिमा दैडिन्छ, विजुली एकै तर्फ चम्किएर आँउछ, त्यो त्यतै बिलाउँछ । परन्तु यो मन जहाँ जानुछ जे गर्नु छ त्यो काम गरेर फेरि तुरुन्तै फर्की आउँछ, अतः यस्को जाने आउँने दोहोरो गति हुन्छ ।
हाम्रो दर्शनशास्त्रले भन्छ दशवटा वस्तुहरु चञ्चल हुन्छन्,यो मनकै अगुवाईमा ती दश वस्तुहरुमा पहिलो स्थानमै उल्लेख भएको छ, मन । मधुकर(भमरो), मेघ(विजुली) माननी, मदन(कामदेव), मरुत(हावा),मर्कट(वानर), मा(लक्ष्मी), मद र मत्स्य यी दश चञ्चल वस्तुहरु मध्ये यो मन नै सबै भन्दा अगुवा चञ्चलताको द्योतक वस्तु हो । अतः यो मन दश इन्द्रिय मध्ये एघारौं इन्द्रिय हो भनिन्छ । शास्त्रले पनि यसो भन्छः–

मनो मधुकरो मेघो माननी मदनो मरुत् ।
मर्कटो मा मदो मत्स्यो मकारा दश चञ्चलाः ।।

मन, यो चञ्चलताको द्योतक वस्तु इन्द्रियहरुको राजा हो । मनले नै मान्छेलाई रुवाउँछ, हसाउँछ, यहाँसम्म कि पागलसम्म बनाउँछ, यो मनले ।
यो मन जहिल्यै पनि जागा भई बस्छ, जागृति अवस्थामा होस या सुसुप्त अवस्थामा होस, मानिसका तनमा चलायमान हुँदै डेरा जमाएर बस्छ यो मन । यस्लाई आफ्नो घर या डेराको वास्तै हुदैन । मानिस या प्राणीको कायाकलेवरलाई थपक्क छोडेर स्वतन्त्र भई विश्वमा विचरण गर्छ यो मन । यदाकदा यो मनले शरीरलाई विर्सीदिदा अथवा मन अनुपस्थित अवस्थामा रहँदा मान्छे भड्खारामा पर्ने हुन्छ । शरीरका अङ्ग प्रत्यङ्गमा चोटपटक लाग्ने हुन्छ । त्यस्तो अवस्थामा डुलुवा यो मन फर्कि आउला तर त्यसको मलमपट्टी कामयावी हँुदैन, मान्छेलाई हात लाग्ला त केवल पश्चाताप मात्र ।

मन बरालिँदा तन्द्रा आउँछ, त्यसपछि मान्छे निन्द्रा निमग्न हुन्छ, अनि यो स्थूल शरीर चेतनाशुन्य हुन्छ । यो अवस्थामा हामी सबै स्वतन्त्र भई खुला भएको अवस्थामा धागो छिनेको चंगा जस्तै भएर फितलो मनको रुपमा आकाश, पाताल, नदनदी, पहाड, पर्वत ईहलोक, परलोक निर्वाध रुपमा यत्रतत्र विचरण गर्छ यो मन ।
यसै प्रसंगमा आएको यो एउटा श्लोक पढौँः–
स्वप्नमा मनमात्र डुल्छ मजले आकाशमा उड्दछ ।
पैडी–वाज भएर सागर स्वतै पौडन्छ औ तर्दछ ।।
आफ्ना अन्तर कामना मनमनै गम्दै निदायो जग ।
पायो स्वप्न महाँ मनै खुश भयो व्यूझन्छ रित्तै सव ।।

हामी हाम्रा धर्मशास्त्रतिर गयौं र पुराना मानव तथा देवी देवताहरुलाई खोज्यांै भने यस्तो पाउँछौं– प्राचीनकालका ऋषिमुनिहरु मनलाई वशिकरण गर्न एकान्त स्थलमा गई तपस्या गर्दथे भन्ने कुरा उल्लेख पाइन्छ, स्वर्गमा राज गर्ने इन्द्रादी देउताहरु चाँहि हामी भन्दा प्रभावशाली अरु नहून् भनेर ती तपश्या गर्ने ऋषिमुनि एवं मानवहरुको तपस्या भंग गर्न या सम्बन्धितहरुको मन एकाग्रतालाई विचलन गर्न स्वर्गका अप्सरा आदि स्वर्वेश्या सुन्दरीहरुको तपोव्रतीका सम्पर्कमा आएर अनेक प्रकारका आफ्ना अन्तरिय अंगहरु प्रर्दशन गरी मन विचलन गरिदिन्थे । मनलाई नियन्त्रण गर्न नसकि सुन्दरीहरुले तिनीहरुको मन हरेर तपस्यारुपि ब्रतबाट तपस्वीहरुलाई च्यूत् गराएको पनि शास्त्रमा उल्लेख पाइन्छ । अतः कसैको मन दृढ हुन्छ कसैको मन फितलो हुन्छ, मन तत् तत् व्यक्ति विशेषमा विद्यमान रहेको पाइन्छ । कसको मनवोल कतिसम्मको शक्तिसाली हुन्छ, त्यो मनलाई सहजै मापन गर्न सकिँदैन यद्यपि यो मन मानवका दसै इन्द्रियको सारथी हो, सम्पूर्ण मानव एवं जीवहरुकै पनि उन्नति र अवनतिको अगुवाई गर्छ यस मनले । प्राणीहरुको मन पाप, षडयन्त्र, कुतुहल, औखि, उपद्रो आदिलाई सहजतापूर्वक खेलाउँदै, लट्याउँदै मानवलाई मात्र के भूमण्डलका जीवजन्तु जम्मैलाई प्रयोग गरेर प्राणी जगतमा राज गर्छ यो मनले ।

प्राचिन पौराणिक एवं ऐतिहासिक पृष्ठभूमिमा केलाउँ । सर्वप्रथम त महाभारत तिरै जाऊँ । त्यस पुस्तकका मुख्य पात्रहरु कौरव पाण्डवहरु हुन् । यी दुवै समूहका भाई भाईका सन्तानहरु हुन, यी परस्परमा आपm्ना पैत्रिक सम्पत्ति र राजकाज बारे अंशवण्डका लागि झगडा एवम् विवाद गरिरहन्थे । कौरव पक्षमा दुर्योधनको अगुवाई थियो भने पाण्डवहरु पाँच भाई थिए । दुर्योधनादि सय भाई थिए र पाण्डवहरु पाँच भाई, उनीहरुमा युधिष्ठिर जेठा थिए । एक समयमा पाण्डव पक्षले राज्यको अंशवण्डाको माग गरे । दुवै समूहमा दुर्योधनको हालीमुहाली थियो । कौरव पक्षका दुर्योधनले पाण्डवहरुको मागलाई अस्विकार गर्दै युद्ध नगरी “सियोको टुप्पो भरपनि अंश नदिने ” भनि अडान राखे । त्यस पछि जुवा खेल्ने सर्त राखियो । पाण्डवहरु पनि जुवा खेल्न बाध्य भए । कौरव–पाण्डव दुवै पक्षबीच घमासान जुवा खेल भयो । जुवामा पाण्डवहरुको हार भयो, यतिसम्म पाण्डवहरु हारे कि आफ्नै स्नेहमयी पत्नी द्रौपदीलाई पनि पाण्डवहरुले जुवामा हारे । कौरव पक्षका दुषासन लगायतले जितको मजासँगै पाण्डवहरुलाई लज्जित पार्ने अभिप्रायले द्रौपदीलाई निर्वस्त्र पार्न उनको पहिरन(साडी) उर्तार्दै जोडतोडले हाँस्न लागे । यस्तो अवस्थामा त्यस सभामा उपस्थित उपरोक्त भद्र भलाद्मीहरुले यो दुष्कार्यलाई निषेध गर्न पनि सक्दथे परन्तु सभामा उपस्थित ति सबै व्यक्तिहरु मूकदर्शक बने किन होला ? उनीहरुको पनि पापी मन, एउटी निरीह नग्न तरुणीको अन्तरीय अंग हेर्न लालुप भएको हो कि ? यो पनि लख काट्न सकिन्छ । पापी दुषासनको यस्तो दुष्कर्म जारी रहेकै बेला श्री कृष्णले कृपा राखी द्रौपदीको इज्जत बचाएको कथा महाभारतमा पढ्न पाइन्छ ।
मान्छेले आफ्ना जीवनकालमा गरेका अनेकौं कुकृत्यलाई अति गोपनीय ढंगले मनरुपी कन्तुरमा लुकाइराखेको हुन्छ, यहाँसम्म कि उस्ले आमरण त्यो कुरालाई उजागर नगरी मरेर गएको हुन्छ । अन्नतः उस्को मनको कुरा चिहानमा गुम्सिएर बस्ला वा चितामा डडेर भष्म होला, यो रहस्य अज्ञेय छ । मनको अस्तित्व मानव वा प्राणी जीवित रहुन्जेल सम्म मात्र रहन्छ यही बुझौं । मान्छे या प्राणीलाई मनले उ नमरुन्जेल सम्म यत्र तत्र सांसारिक चक्रमा घुमाउँछ, अन्तमा मान्छे हार्दछ, मनले विजय प्राप्त गर्दछ ।

मनको तरल तरङ्ग कति फितलो यत्रतत्र सर्वत्र वगी हिड्ने ? अर्को प्रसंग तिनै द्रौपदीको इज्जत बचाईदिने सर्व शक्तिमान ईश्वर श्री कृष्णजीको पनि मनले वहाँ स्वयंलाई पथभ्रान्त, बनाएको कृष्ण चरित्रको अर्को कथालाई स्मरण गर्न मन लाग्यो – द्वापर युगकै कथा हो यो । कथाले भन्छ, श्री कृष्णका प्रियपात्र गोपिनीहरु स्नान गर्न यमुना नदीमा गएका थिए रे । उनीहरु आफ्ना वस्त्रहरु खोलेर नदी किनारमा राखी नग्न अवस्थामा नुहाउँदै थिए रे, त्यस्तो अवस्थामा स्वयं परमात्मा श्री कृष्णको पनि मन विचलन भई औखि गर्न तिर औताएछ र हतार हतार गोपिनीहरुका जम्मै साडी कपडाहरु रुखमा लगेर झुण्डाइदिएछन् । स्नान गरिसकेर गोपिनीहरु नदी किनारमा निस्कँदा त्यहाँ राखेका स्थानमा आफ्ना साडी कपडाहरु केही देखेनन्, अब गोपिनीहरुलाई पर्यो फसाद ! यता उति नजर लगाए सबै गोपिनीहरुले यसरी नजर लगाउँदा केही टाढा गोपिनीहरुलाई कटाक्ष गर्दै आफ्नै वसमा उनीहरुका वस्त्रहरु राखी रुखमा खुट्टा हल्लाउँदै वाँसुरी बजाई रहेका श्री कृष्णलाई देखे गोपिनीहरुले । हतार हतार एकहातले आफ्ना आफ्ना अन्तरीय अंगहरु छोपेर अर्का हातले नमस्कार गर्दै श्री कृष्णसँग विनंम्रतापूर्वक आफ्ना साडीहरुको माग गरे । यद्यपि श्री कृष्णलाई अझै पनि साडी दिएर गोपिनीहरुलाई आश्वस्त गर्न मन लागेछ । उल्टै श्री कृष्ण –“के एक हातले नमस्कार गरी तिमीहरुले मलाई मर भनी श्राप गरेको ? भनी उल्टै अड्को थपेछन् । साथै दुबै हातले मलाई नमस्कार गरे मात्र तिमीहरुको साडी लगायत सबै कपडा रुखबाट झारिदिन्छु” भनी शर्त राखेछन् । श्री कृष्णको यस्तो मागबाट यो बुझ्न सकिन्छ कि ती गोपिनीहरुलाई नाङ्गो पारेर, उनीहरुको अन्तरीय अंग हेर्ने मन उनको रहेछ भन्ने आशय बुझिन्छ ।

कति पापी र उद्धण्ड रहेछ यो मन ! अन्र्तयामी भगवान् कृष्णको पनि मन यसरी तुलबुलाउँदो रहेछ भने मानवमात्र के सम्पूर्ण प्राणीजगतलाई नै यो मनले दास बनाइराखेको छ । यो दिग्विजयी मन यस्तै छ भनेर, हामी सबै मनुवाले भरिसक्के मन विचलित नपारौं है ! यथासम्भव आत्मसंयमी भै बसौं ।

फेरी अब अलिकति मनकै कुरा गरौं, कहिले कहिले यो मन आँखाको पारामा लाग्दछ, मनको अति नजिकको साथी आँखा पनि हो । उखानले पनि यो प्रमाणित गर्छ,“आँखा लोभी मन पापी” विलखवन्द भएको मनलाई आँखाले उत्प्रेरित गर्दा एकछिन मनले आँखाको सहारा लिन्छ, तर यो धेरै समयसम्म त्यहाँ अल्मलिदैन, यो एक्लै पनि जताततै विचरण गर्दछ । प्रसंग बदली गर्नलाई आँखाले यदाकदा डुलाउने गर्दछ । जागृत अवस्थाको मन आँखाको सहारामा पत्यारिलो भई यथार्थतामा रहँदै बस्छ भने सुसुप्ति अवस्थाको मन धागो छिनेको चंगा जस्तो ढलपल गर्दै यताउता विचरण गर्दै अनिश्चित र अपत्यारिलो भई यत्रतत्र भांैतारिदै हिड्दछ । निद्रा अवस्थामा मन बेग्लै किसिमको हुन्छ । मन यो शरीरमै भए पनि फितलो मष्तिस्कसँग यत्रतत्र विचरण गर्दछ, नपत्याउने गरी असीमित ढंगले रफ्तारमा दौडन्छ । जागृत अवस्थामा आइसकेपछि मान्छेले यस्लाई सपना भन्दै आफै दंग हुन्छन् ।
मनका कुरा यतिसम्म गरियो । आफुलाई अनुभुति भएसम्म, यो असन्तुष्ट मनको व्याख्या, बखान भयो । मनको परिभाषा राम्रोसँग प्रष्टिएन होला । यो मनको जति नै बाहृ बखान गरे पनि अझै लम्विदै जाला, तथापि यो सर्वतोमूखी मन मेरो र सम्पूर्ण मानव एवं प्राणी लगायत सबैको मन आकाश पाताल सबैतिर उम्लिदै पोखिदै जाने नै हो । अतः संयमित भएर यो चञ्चल भनौं या उत्ताउलो मन पृथ्वी, आकाश, पाताल सबैतिर उम्लिएर पोखिन चाहे पनि भरिसक्के संयमित भएर यसलाई यथासक्य जताततै विचरण गर्न न दिऔं । हाम्रा हजारौं वर्ष यो मनलाई वशिकरण गर्न तपश्या गर्दा गर्दै आफ्नो जीवनकाल बिताएका अनुभवी पूर्वजहरुले भनेका छन्– “मन सिच परितुष्टे कोडर्थषान को दरिद्री ?” अर्थात मनलाई परितुष्ट राखौं, मन परितुष्ट भई आत्मसन्तुष्टी हुँदा को धनी को गरीब ! यो मनको चटारो त्यति न आउला । अझै पनि हाम्रा पूर्वजहरुले यतिसम्म भनेका छन्– “सर्व संपत्तय तस्य सन्तुष्टं यस्य मानसम्” अर्थात् – जस्को आत्मसन्तुष्ट छ, त्यस्को सम्पूर्ण सम्पत्ति त्यही नै हो ।

लेखक
विष्णुभक्त आत्रेय
मेचीनगर– ८, प्रतिभा टोल (झापा)

 

 

 

 

 

 

 

मान्छेको मन

कसरी हुन्छ भिजिट भिसामा मानव तस्करी

Leave a comment

Your email address will not be published. Required fields are marked *