आमै (हजुरआमा) स्व.भद्रमायाको सम्झनामा कविता
आमै (हजुरआमा) स्व.भद्रमायाको सम्झनामा
आमा स्वर्गे जव हुनु भयो चार छोरी म छोरा—
पायौँ धोको विधि विसमभो हामी जम्मै टुहूरा ।
नाता गोता रुदन घरमा को—को होलो भयो रे ।
त्यो बेलाको विवरण अरु के गँरु आज मैले ? ।।१।।
मेरा जम्मै अलिक अघिका जन्मिएका दिदी हुन् ।
भोको नाङ्गो सहज सजिलो बात जम्मै त बुझ्छन् ।
मै मात्रै हुँ अबुझ दुधको बालको भो विहाल ।
दूधे बालो असक यसको गर्छ को देखभाल ? ।।२।।
आमा स्वर्गे जब हुनु भयो दूधमूखे म नानी ।
सारै गाहृो कठिन घरको काम यो जानिजानी ।।
कस्ले लेला सुखसयल दी गोदमा स्नेह भानी ?
कस्को चुस्ला मधुर स्तन त्यो माईको स्तन्य ठानी ? ।।३।।
दुदे बालो अव त कसले गोदमा लिन्छ होला ?
खोज्दै आमा दिनभर बरा ! पर्खदै रुन्छ होला ।।
चोखो चोखो मधुर यसले स्तन्य पाउन्न होला ।।
आमा उस्की अब त कहिल्यै फर्कि आउन्न होला ।।४।।
यस्तै तर्क वितर्क चल्छ घरमा सन्दर्भ यै वालको ।
जन्मेको छ सुपुत्र एक विचरो पौडेलका वंश को ।।
“हाम्रै यो कुलदीपको कसरि हो गर्दै म संरक्षण ।
हुर्काइकन छाडुंला” हजुरआमा भन्छिन् बढाई मन ।।५।।
आमा छैन अवोध बालं टुहूरो भन्दै अघाडी बडी ।
आमैले शिशु काखमा लिनुभयो साहृै हिफाजत् गरी ।।
पांए सो दिन देखि धेर ममता माया अनौठो मिठो ।
छाँयाँझै म हजूरमा सँग रहें, आमा त्यसै विर्सियो ।।६।।
आमैका सँग मात्र बस्नु दिनमा सुत्नै पनी रातमा ।
मीठो भोज खिलाई भोज दिनु भो राखी सधैं साथमा ।।
कैले सञ्च—विसन्च के छ शिशुमा चिन्ता सधैं यो लियौ ।
कस्तो यो ममता विचित्र बुझहै ! माया अनौठो दियौ ।।७।।
माया धेर विभोर भै सयनमा छाती टँसाईकन ।
दिन्थ्यौँ चुस्न मलाई छल्न कहिले तिम्रा गलेका स्तन ।।
कैले सुत्न म दिन्नथें सयनमा ‘सू’ गर्दथें स्वप्नमा ।
आमै ! दुःख दिँए कति हजुरमा लज्जा भयो भन्नमा ।।८।।
हुर्कायौँ दुखले मलाई जननी ! सार्थक बन्यो जीवनी ।
तिम्रो यो अनमोल मातृ—ममता पर्याप्त पाएं पनी ।।
तिम्रै आशिष पाई सन्तति बडयो छन् पाँच छोरा अब ।
तीनै छन् तनया पराइ घरमा आनन्दमा छन् सव ।।९।।
जाडो गर्मी सम—विसमका रात दिन् भै चनाखो ।
भोको नाङ्गो सुखदुख सवै राखदै ख्याल मेरो ।।
हुर्कायौ है सुख सयलको काख संझेर मीठो ।
आमै ! ऐले गदगद हँुदै भावनामा रमेको ।।१०।।
लेखें केही हरफ जननी भावना—भेल आयो ।
भुल्नै गाहृो अमिट मनमा प्रेमले मोह लायो ।।
स्वप्ना आयो अनि त उठदा संझनाले सतायो ।
तिम्रो राम्रो चहकरुपको दिव्यता त्यो हरायो ।।११।।
आमै ! सम्झे विगत दिन ती भावना उर्ली आयो ।
माया तिम्रो सरस यसको यादले मोह लायो ।।
खोल्नै गाहृो सरल मनको वोलिमा भाव यस्को ।
भुल्नै गाहृो तनय जननी साथ संस्कार हो यो ।।१२।।
आमै ! तिम्रो श्रुतिमधुरको भद्रमाया सुनाम ।
राखी श्रद्धा हृदयपटमा गर्छ यो है प्रणाम ।।
तिम्रो आर्शीर्वचन जननी ! पाउँदा आज हामी ।
बाँचेकै छौँ तनय—तनया मत्र्यमा मोज मानी ।।१३।।
उही तपाईको प्यारो नातिः
विष्णुभक्त आत्रेय
मेचीनगर— ८,झापा